३ असार २०७८, बिहीबार

अभिनेता जीवन थापा ‘क्षितिज’ चलचित्र निर्देशनमा

SamayaSandarbhik
१४ चैत्र २०७७, शनिबार १३:३८

चलचित्र ‘अन्तिम पाना’ : एक नौलो प्रयोग नाटक तथा चलचित्र लेखक एवम् अभिनेता जीवन थापा ‘क्षितिज’ले चलचित्र निर्देशनमा समेत हात हालेका छन् । एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र ‘अन्तिम पाना’ मार्फत् उनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् ।

विशेष गरि लेखनमा दख्खल राख्ने थापा रङ्गमञ्च, म्युजिक भिडियो हुँदै चलचित्रको निर्देशनमा आएका हुन्। यस अघि दर्जनौं नाटकको लेखन तथा निर्देशन गरिसकेका उनले दर्जनौं म्युजिक भिडियोमा समेत आफ्नो कुशल अभिनय दिएका छन्। उनै बहुप्रतिभाका धनी थापाद्वारा निर्देशित चलचित्र ‘अन्तिम पाना’ दिवाज फिल्मको ब्यानरमा निर्माण गरिएको हो।

सो चलचित्रको सुटिङ सम्पन्न भैसकेको र सम्पादनमा रहेको उनले बताएका छन्। उनले कोरोना कहर सामान्य हुनासाथ सो चलचित्र प्रदर्शनमा आउने विश्वास दिलाए। एक जना कलाकारको मात्र अभिनय रहेकोे चलचित्र ‘अन्तिम पाना’मा कुशल कलाकार उमेश कार्कीको अभिनय रहेको छ। करिब दुई घन्टा समय अवधिको चलचित्र ‘अन्तिम पाना’मा एक्लै अभिनय गर्नु निकै कठिन भएता पनि आफू यसबाट अत्यन्त रोमाञ्चित भएको अभिनेता कार्कीले बताए ।

त्यस्तै, निर्देशक थापाले पनि एक मात्र कलाकारको अभिनयमा चलचित्र निर्माण गर्नु आफैंमा ठूलो चुनौती भएको स्वीकारे। दिवाज राई किराती निर्माता रहेको ‘अन्तिम पाना’मा नियोमा राई कार्यकारी निर्माता रहेकी छन् । चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गरेका छन् भने छायांकन र सम्पादन केदार राईले गरेका हुन् । चलचित्रको लेखन निर्देशक थापाकै रहेको छ । निर्देशक थापाका अनुसार समाजमा विभिन्न समस्याका कारण एक्लिन बाध्य भएको पात्रको जीवनसंघर्षलाई मुख्य विषय बनाइएको चलचित्र भोजपुरको ट्याम्केमैयु, पाङ्खा र अरुण गाउँपालिकाको याकु लगायतका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

चलचित्र निर्माता किरातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न चलचित्र महोत्सवमा सहभागी गराए पश्चात् मात्र नेपालका हलहरूमा ‘अन्तिम पाना’को सार्वजनिक प्रदर्शन गरिने जानकारी दिए ।

प्रतिक्रिया : थप