२ असार २०७८, बुधबार

असारदेखि नयाँ भर्ना सुरु : शिक्षा मन्त्रालय, परामर्श गरौ : शिक्षक महासङ्घ

SamayaSandarbhik
२३ जेष्ठ २०७८, आईतवार २०:०२

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र सुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षा मन्त्री श्रेष्ठले असार १ गतेदेखि नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आज मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

कोभिड–१९ का कारण चालु शैक्षिक सत्र जेठसम्म लम्ब्याइएपछि नयाँ सत्र असार १ गतेदेखि हुने पूर्व निर्धारण गरिएकामा यस वर्षको दोस्रो लहरको कोरोना रोकथामका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । वैकल्पिक माध्यमबाट सम्भव नभएका ठाउँमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार पालिकाकाे भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भए पनि राष्ट्रिय रूपमा कुन मितिदेखि शैक्षिकसत्र गणना गर्ने भन्ने केन्द्र सरकारले तय गर्दै आएको छ । 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले चालु शैक्षिक सत्रमा कात्तिकदेखि मात्रै सामुदायिक विद्यालयमा राम्रोसँग पढाइ सुरु भएकाले कोर्स पूरा गरी, वार्षिक परीक्षा र परीक्षाफल प्रकाशनपछि नयाँ भर्ना गर्दा साउन–भदौ पुग्ने सक्ने भएकाले त्यसअनुसार गर्न सरकारलाई आग्रह गर्नुभयो । अध्यक्ष थापाले भन्नुभयो, स्थितिको समग्र विश्लेषणविना हतारहतार असारदेखि कक्षा सञ्चालन गर्नुले निजी विद्यालयलाई मात्रै प्रोत्साहन हुन्छ । सबै सामुदायिक विद्यालयमा वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएको पक्षलाई पनि भुल्न हुँदैन । विद्यालय शिक्षामा ८० प्रतिशत हिस्सा सामुदायिक विद्यालयको छ । 

हरेक वैशाखमा सुरु भइ चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष कोभिड–१९ का कारण प्रभावित दुई महिना थप गरेर व्यवस्थापन गर्न लागिएको हो । विद्यमान शिक्षा नियमावलीमा वर्षमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने एक सय ९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन गरी सिकाइ निरन्तरता गरिएको छ । कोराेनाकाे जोखिम घट्दै गएको र लामो समय वैकल्पिक माध्यममा शिक्षा दिँदा सिकाइ गुणस्तरमा नकारात्मक असर पर्न सक्ने भएकाले पछिल्लो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विद्यालय सञ्चालनको क्रम सुरु भएको छ । जाडो बिदासमेत नदिइ कक्षा सञ्चालन भएकाले शैक्षिक सत्र व्यवस्थापनमा यसले सकारात्मक प्रभाव पार्ने देखिएको छ । 

सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणना गराउने गरी गएकाे भदौ १९ गते  ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको थियो । कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृतिक विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो ।

यो निर्देशिकासँगै चालु शैक्षिक सत्रमा विद्यार्थी अभिलेखीकरण (भर्ना), तथ्याङ्क सङ्कलन, निजी विद्यालयमा पालिकाले तोकेअनुसारकाे शुल्क लिन, पाठ्यभार सङ्कुचन गरी मूल्याङ्कनको विधि लागू गर्न पालिका र सम्बन्धित विद्यालयलाई सहज हुनेछ । त्यसअघि शिक्षा ऐन, नवौँ संशोधन (२०२८) को दफा १९ ‘क’ को अधिकार प्रयोग गरी गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी भइ गएकाे असार १ गतेदेखि वैकल्पिक प्रणालीको सिकाइ अनिवार्य कार्यान्वयन गरिएको थियो ।

प्रतिक्रिया : थप