३ असार २०७८, बिहीबार

कालीकाेटमा सहुलियतकाे चामल लिनेकाे घुइँचाे

SamayaSandarbhik
२६ जेष्ठ २०७८, बुधबार १७:०८

कालीकोट ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ । सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो । 

एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ । कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट मङ्गलवारसम्म तीन सय १३ कुइन्टल ३७ केजी चामल बिक्री भएको शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

सरकारले छुटको घोषणा गरेपछि चामल लिनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । कम्पनीले २० प्रतिशत छुट गर्नुअघि २५ किलोको अरुवा मोटा चामल प्रति बोरा एक हजार एक सय ८७ रुपैयाँमा बिक्री गरिरहेको थियो । अहिले नाै सय ५० रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै एक हजार पाँच सय पर्ने अरुवा मध्यम चामल एक हजार दुई सय, एक हजार ६ सय ५० पर्ने जिरा मसिनो चामल छुटपछि एक हजार तीन सय २० र यसअघि एक हजार चार सय ४० मा बिक्री हुने मकवानपुर चामल एक हजार इक सय ५२ रुपैयाँमा बिक्री भइरहेको छ । 

प्रतिक्रिया : थप