३ जेष्ठ २०७८, सोमबार

डोरमणि पौडेलले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने

SamayaSandarbhik
१५ चैत्र २०७७, आईतवार १९:१४

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन् । प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले आगामी बुधबारको लागि दलको बैठक बोलाएका हुन् । बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन पौडेलले निर्देशन दिने बताइएको छ । एमालेकै सांसद अष्टलक्ष्मी शाक्यलगायतले अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

बुधबारको बैठकमा निर्णय गरेर मुख्यमन्त्री पौडेलले शाक्यलाई अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने तयारी गरेका हुन् ।  ‘१८ गतेलाई बैठक बाेलाइएकाे छ । बैठकले अविश्‍वासको प्रस्ताव फिर्ता गर्न निर्देशन दिनेछ,’ प्रदेश सभामा एमालेका संसदीय दलका नेता केशवराज पाण्डेले भने,’संसद् बैठक जतिसक्दो छिटो बोलाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।’

अविश्वासको प्रस्ताव प्रदेश सभामा विचाराधीन छ ।  एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा एमालेकै माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।  त्यसबेला नेपाल समूहकी सांसद शाक्यलाई संसदीय दलको नेता प्रस्ताव गर्दै पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।  

बुधबारको संसदीय दलको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लागेको छैन । प्रदेश सभामा ११० सदस्य सांसद छन् । जसमा एमालेको एकल बहुमत छ । बुधबारको बैठकमा सरकारमा नयाँ मन्त्रीहरु नियुक्त गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।  यसअघि जमरकट्टेल, अरुण नेपाल र युवराज दुलालले राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तत्काल उनीहरुले राजीनामा दिएर रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसहित थप २ गरी पाँच जना मन्त्री नियुक्त गर्ने बुझिएको छ ।    

प्रदेशसभामा नेकपा एमालेका ५७ नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नयाँ शक्ति पार्टी १ जना सांसद छन् । 

प्रतिक्रिया : थप