३ जेष्ठ २०७८, सोमबार

निर्वाचन आयोगको ढोका ढकढक्याउन पुगे महन्थ ठाकुर

SamayaSandarbhik
१७ बैशाख २०७८, शुक्रबार १७:१५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगको ढोका ढकढक्याउन पुगेका छन् ।लुम्बिनी प्रदेशमा आफ्ना चार प्रदेशसभा सदस्यलाई पार्टीको निर्णयविपरीत निष्कासन गरिएको भन्दै उनी आयोग पुगेका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र्र यादव पक्षले पार्टीको निर्देशनविपरीत सरकारमा गएका प्रदेश सांसद विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेलाई पार्टीमै नरहने गरी कारवाही गरेको छ ।तर, अध्यक्ष महन्थ ठाकुरले अध्यक्ष यादव पक्षलाई प्रदेशसभा सदस्यलाई हटाउने अधिकार नरहेको भन्दै आयोगलाई ध्यानाकर्षण गराएका छन् । पत्रमा २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्कासन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले जिकिर गरेका छन् ।

आयोगलाई लेखिएको पत्रमा भनिएको छ, ‘सो अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ ।’

प्रतिक्रिया : थप