३ असार २०७८, बिहीबार

मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री

SamayaSandarbhik
२७ जेष्ठ २०७८, बिहीबार २२:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । भने खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन्

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले बिहीबार नै शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ दिलाएका हुन् ।

रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु मन्त्री बन्ने सम्भावना टरेको थियो । जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी मन्त्री बने ।

विस्तारित मन्त्रिपरिषदमा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनि रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्री ओलीमाथि थियो ।

एमालेबाट गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेका थिएनन्।

प्रतिक्रिया : थप