३ जेष्ठ २०७८, सोमबार

सिसिएमसीले जारी गर्‍यो अर्को सूचना, अझै कडाई हुने

SamayaSandarbhik
१८ बैशाख २०७८, शनिबार २१:०७

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिएको र यसको संक्रमणलाई न्युनिकरण गर्नका लागि थप पहलदारी कदम चाल्न अपिल गरेको छ । सिसिएमसीको बैठकले ४ बुँदामा कोरोना संक्रमणको जोखिमलाई कम गर्न सबैमा आह्वान गरेको हो । 

निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरुमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने, अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने, काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने ।

कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी  उद्योग व्यवसाय सञ्चालन गर्ने, कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने, उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने ।

काठमाडौँ उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्यारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने ।

होम क्यारेन्टिनमा बसेकाहरुको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने। होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने । होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने । 

होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने ।  आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित र प्रकाशित गर्न अनुरोध गर्ने, सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने ।

प्रतिक्रिया : थप