३ जेष्ठ २०७८, सोमबार

सुरक्षाकर्मीलाई गल्ली र टोल–टोलमा खटाउने प्रधानमन्त्रीको घोषणा

SamayaSandarbhik
२० बैशाख २०७८, सोमबार १९:१९

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने बताउनुभएको छ  । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी खटाइने बताउनुभयो । 

‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ’, ओलीले भन्नुभएको छ ।  

जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि ओलीले जानकारी दिनुभयो ।

सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने पनि निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत कोरोना नियन्त्रणमा खटिनेहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने पनि प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । यस्तै उनीहरूका परिवारको उपचार र बीमाको व्यवस्था गरिने भएको छ  । 

यस्तै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र ज्यान नजाओस् भन्नेमा सरकार सचेत रहेको बताउँदै सङ्घीय सरकार, प्रदेश र पालिकाहरूमा विभिन्न तहका अस्पताल बनाउने काम भइरहेको पनि जानकारी दिनुभयो । वीर अस्पतालको नयाँ भवन, सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल र अन्य केही ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिने प्रधानमन्त्रीले बताउनुभयो । 

यस्तै नेपाली सेनालाई एक हजार शय्याको अस्पताल बनाउन निर्देशन दिइएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । साथै पार्टी प्यालेस, विद्यालय, रङ्गशाला हल, होटल, कारखाना, गोदाम घरलगायतलाई क्वरेण्टीन, आइसाेलेशन, होल्डिङ सेन्टर बनाउने ओलीको भनाइ छ ।

यस्तै देशभरका ठूला अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, भएका प्लान्टको क्षमता बढाउने र बिग्रेका प्लान्टको मर्मत गर्न निर्देशन दिइएको प्रधानमन्त्रीले बताउनुभयो ।

साथै अस्पतालले हरेक दिन आफूसँग भएका शय्याको बारेमा स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पठाउनुपर्ने र शय्या लुकाएको पाइएमा कारबाही हुने प्रधानमन्त्रीको भनाइ छ ।    

प्रतिक्रिया : थप