पृथ्वी जयन्तीकाे अवसरमा गोरखादेखि काठमाण्डौसम्म सेनाकाे पदयात्रा शुरु
shares

गोरखा । पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरि पदयात्राको शुभारम्भ गर्नुभएको हो । आज गोरखा दरवारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन अर्थात् पुस २७ गते काठमाण्डौ पुग्ने गोरखाको रिपुमर्दन गणले जनाएको छ ।
पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौंमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ ।
काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । सेनाले यस पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको करिब १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रबद्र्धन गर्न लागेको हो । नेपाली सेनाको गोरखामा रहेको गणले भने गोरखाभित्रको बाटोको अध्ययन गरेको छ ।
काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा रहेको छ । बाटोको बीचबीचमा रहेका अधिकांश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन ।
वि.सं.२०७८ पुस २१ बुधवार १४:००