टेलिकमको ‘फोर जी’ विस्तार अन्तिम चरणमा, ‘फाइभ जी’ परीक्षणको तयारी
shares

काठमाडौँ । नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ७७ जिल्लाका ६ सय ८२ पालिकामा फोर जी विस्तारको काम सकिएको र बाँकी रहेका ७१ पालिकामा पनि काम भइरहेको टेलिकमले जनाएको छ ।
चार हजार एक सय ८६ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन हजार पाँच सय ४४ वटा संरचनाबाट फोर जी अनएअर भइसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
यस्तै टेलिकमले गएको जेठदेखि सुरु भएको फोरजी भीओएलटीई सेवाको परीक्षण पनि तीव्र गतिमा भइरहेको जनाएको छ । इन्टरनेट विना नै भिडिओ कल गर्ने सुविधाका साथै आवाजको गुणस्तर सुधार्न टेलिकमले भीओएलटीई प्रविधि ल्याएको हो ।
यसैबीच टेलिकमले फाइभ जी परीक्षणका लागि पनि तयारी तीव्र पारिएको जनाएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले फोर जी विस्तारको काम छिटै सकिने र फाइभ जी परीक्षण हुने जानकारी दिनुभयो ।
फाइभ जी परीक्षणका लागि उपकरण आयातको क्रममा रहेको र अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरिएको जोशीले बताउनुभयो ।
वि.सं.२०७८ भदौ २१ सोमवार २०:५१