सुनसान भयो पुलचोक जाउलाखेल !
shares
✍किशोर पहाडी
चालिस–पचासको दशकमा (२०४२ देखि २०५३ सालसम्म) ललितपुरको, पुलचोकमा मेरो भिडियो क्यासेट पसल थियो– शीत–रश्मि भिडियो सेन्टर । त्योभन्दा अघि चार वर्षजति त्यो पसल कोल्डस्टोरको रूपमा थियो । पछि भिडियो क्यासेटको लोकप्रियता भएपछि बिस्तारै पूर्ण रूपमा भिडियो क्यासेट पसलमा रूपान्तरण भएको थियो ।
चेतनदाइसँग मेरो पहिलो भेट त्यही पसलमा भएको हो (चेतन दाइ अर्थात् वरिष्ठ साहित्यकार, चलचित्रकर्मी चेतन कार्की, जसलाई हामीले २०७८ जेठ २ गते सधैँका लागि गुमायौँ ।
मैले स्कूले बेलामै उहाँको उपन्यास ‘आत्मा बेचेको छैन’ पढेको सम्झना छ । ‘आत्मा बेचेको छैन’मा लोकगायक झलकमान गन्धर्वले गाएको लोकप्रिय गीत पूरा सङ्ग्रहित छ–
‘बाबाले सोध्लान् नि खोइ छोरा भन्लान्
रण जित्दै छ भन्दिए ।
आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन्
रज है फुल्यो भन्दिए ।’
यो गीत सुन्दा मलाई त्यसै पनि अत्यन्त मनपथ्र्याे, उपन्यासमा पूरै शब्द देख्दा झन् मनपर्ने भयो ।
चालिसको दशकतिर यो विशाल व्यक्तित्वले एक दिन मेरो शीत–रश्मि भिडियो सेन्टरमा प्रवेश गर्यो । पसलमा छिरेर फर्किसकेपछि वरपरकाले भने– उहाँ चेतन कार्की हुनुहुन्छ ।
अब जावलाखेल, पुलचोक अनि दमकलअगाडिको चेतन–गल्ली लक–डाउन खुलेपछि पनि सुनसान नै रहनेछ ।
त्यसपछि पो थाहा भयो, उहाँ मैले मन पराएको उपन्यासको उपन्यासकार हुनुहुँदो रहेछ । उहाँ पुलचोक दमकलनजिकै रहेको मेरो पसलको केही दुरीमै बसोबास गर्नुहुने कुरा पनि थाहा भयो ।
त्यो बेलासम्ममा मैले उहाँलाई फिल्मी व्यक्तित्व, एक सेलिब्रिटीका रूपमा चिनेको थिएँ ! कहाँ म एक साधारण पसले, कहाँ उहाँ चर्चित फिल्मी व्यक्तित्व ! त्यति धेरै हेलमेल हुँदैनथ्यो ।
तिनै दिनहरूमा एक दिन सुनेँ– चेतन कार्कीले फिल्म बनाउँदै हुनुहुन्छ । झन् मैले उहाँसँग दोहोरो कुरा गर्ने आँट गर्न सकिनँ । उहाँ त मभन्दा कता हो कता सुपर पर्सनालिटीजस्तो लाग्यो, जब कि म त्यो बेला नाटकहरूमा अभिनय गर्ने गर्थेँ । त्यो बेला उहाँ ‘विश्वास’ भन्ने फिल्म बनाउँदै हुनुहुन्थ्यो ।
त्यसपछि अर्को एक दिन सुनेँ– आफूमुनिका कर्मचारीलाई माथिल्लो पद दिएर (सायद महाप्रबन्धक) हाकिमले आफूलाई पदोन्नति नगरेका हुनाले नेपाल चलचित्र संस्थानबाट उहाँले राजीनामा दिनुभयो । त्यसपछि मलाई लाग्यो– उहाँ लोभ–लालसा कम भएको, एक उच्च स्वाभिमानी व्यक्ति हुनुहुँदो रहेछ ।
समय बगी नै रह्यो । २०५३ सालमा पुलचोकस्थित पसल बन्द गरुञ्जेल उहाँसँग म निकट हुँदै रहेँ । उहाँसँगको भेटमा म घण्टौँ बितेको पत्तो पाउँदिनथेँ ।
उहाँले एक दिन मेरा पुस्तकहरू पढ्नका निम्ति आग्रह गर्नुभएको सम्झना छ । मैले मसँग भएका पुस्तकहरू दिएपछि अर्काे भेटमा ती पुस्तकहरू पढेको प्रतिक्रिया दिनुभयो । त्यसपछि उहाँले मप्रति विश्वास गरेर नै होला, दुई पटक ‘शब्दपथ’लाई आफ्ना पुस्तक लोकार्पण समारोह आयोजना गर्ने अवसर दिनुभयो ।
भेटघाट नियमित भइ नै रहन्थ्यो होला । तर जब कोरोना सङ्क्रमणको त्रास समाजमा जताततै फिँजारियो आयो, सबै आफ्नो घरमै बन्दी बनेर बस्न विवश भयौँ । अनि चेतनदाइसँगको नियमित भेटघाट पनि टुट्यो ।
हरेक वर्ष म उहाँलाई मेरो बारीमा फल्ने गरेको जापानी हलुवाबेद दुई–चारवटा दिने गर्थेँ । गत वर्ष पनि हलुवाबेद दिन उहाँको घर जान्छु भन्ने विचारसहित बीचमा सम्झेर दुई–तीन पटक फोन गरेँ । फोन उठेन ।मैले उहाँलाई फिल्मी व्यक्तित्व, एक सेलिब्रेटीका रूपमा चिनेको थिएँ ! कहाँ म एक साधारण पसले, कहाँ उहाँ चर्चित फिल्मी व्यक्तित्व !
चेतनदाइ मोबाइल नबोक्ने मान्छे । घरको फोन नउठेपछि अर्को सम्पर्कको माध्यम भएन । त्यसैले उहाँको भाग जापानी हलुवाबेद दिन सकिनँ ।
हलुवाबेद सिद्धिन–सिद्धिन लागेको सिजनमा एक दिन मेसेञ्जरमा एक जना फेसबुक फ्रेन्ड नारायण ओलीको कल आयो । म उहाँलाई प्रत्यक्षतः चिन्दिनँ । कुरा गर्दै जाँदा थाहा भो, उहाँ सङ्गीतकार हुनुहुँदो रहेछ । चेतनदाइका गीतहरूलाई सङ्गीतबद्ध गरेर अल्बम निकाल्ने सुरमा हुनुहुँदो रहेछ ।
सायद चेतनदाइले उनीसँग मेरो कुरा गर्नुभएको थियो होला, त्यसैले उनले मलाई कल गरेका होलान् । सङ्गीतकार ओलीले ३०–४० वटा गीतमा सङ्गीत राखिसकेको कुरा गरेजस्तो लाग्छ ।
त्यसपछि मैले ‘शब्दपथ’मा गीतकार चेतन कार्कीका ३०–४० गीत सङ्गीतबद्ध भएको विषयमा एउटा समाचार बनाउने विचार पनि गरेको थिएँ । तर कोरोनाकालमा चेतनदाइलाई भेट्न जानु कि नजानु ? म असमन्जसमा परेको थिएँ ।
त्यसो त कोरोना न सोरोना भन्दै म दिनहुँ घरबाट बाहिर निस्केकै हुन्थेँ । बाहिर यस्तो छ है भनी देखाउन फेसबुकमा भिडियो बनाएर पनि राखेको थिएँ । तर पनि धडाधड गएर ८० वर्ष नाघिसकेका चेतनदाइलाई भेट्न जानु उहाँको निम्ति जोखिम पो हुने हो कि भन्ने एउटा आशङ्का मनमा आउँथ्यो । यस्तो सोच्दै म उहाँकोमा जाँदै गइनँ ।
बीचमा (२०२० नोभेम्बर ४ मा) मलाई नारायण ओलीले ‘भेट भयो चेतनदाइसँग ?’ भनेर म्यासेञ्जर–बक्समा म्यासेज पठाएर सोधेका पनि थिए तर म भेट्न जान सकिनँ ।
एक दिन मर्निङ–वाकका क्रममा धोवीघाट छिचोलेर चेतनदाइको घरअगाडि पुग्दा उहाँको घरको मूलढोका खुला रहेछ । जालीखापाभित्र उहाँको आवाज सुनेँ ।
‘चेतन–दाइ !’ मैले ठूलो आवाजमा बोलाएँ ।
‘ओहो ! ल, आउनोस् । यहाँ एक जना आउनुभएको छ,’ चेतनदाइले भन्नुभयो ।
मैले जालीखापाभित्र अँध्यारोमा उहाँको आवाज मात्र सुनेँ । भित्र को अतिथि थिए, मैले त्यो पनि थाहा पाइनँ ।
‘होइन दाइ, ठीकै छ । मैले दाइको आवाज सुनेकाले केवल हालचाल बुझ्न बोलाएको मात्र । खुसी लाग्यो,’ भनेर म हिँडिहालेँ । यही हुन गयो चेतनदाइसँगको मेरो अन्तिम कुराकानी ।
त्यो बेला मैले उहाँलाई देखिनँ । आवाजमात्र सुनेर स्वस्थ नै हुनुहुँदो रहेछ भनी विश्वस्त हुँदै म घरतिर हिँडेको थिएँ ।
चेतनदाइको र उहाँको छोरा पारसको घर दुई किलोमिटर जतिको दुरीमा छ । ती दुई घरको बीचतिर अफलडोलमा मेरो निवासस्थान छ । पारस र मैले पत्रिका किन्ने पसल एउटै हो ।
पारससँग त्यहाँ बेला–बेला भेट हुन्थ्यो । भेट हुँदा जहिले पनि म सोध्ने गर्थेँ– चेतनदाइलाई कस्तो छ ?
पारस जबाफ दिन्थे– त्यस्तै त हो नि दाइ, एकदम ठीक ।
वास्तवमा चेतनदाइ त्यो उमेरमा पनि एकदम स्वस्थ हुनुहुन्थ्यो । हामीलाई जस्तो चेतनदाइलाई अहिलेको सर्वव्यापी रोग रक्तचाप, मधुमेह केही पनि थिएन । यसको कारण उहाँले हरेक दिन नियमित पिउने कोकाकोला भन्ने सोच्दथेँ म । होला पनि ।
तर यसपालि कोभिड दास्रो भेरियन्टले उहाँलाई छक्यायो । नारायण ओलीकै फेसबुक स्टाटस देखेपछि मैले चेतनदाइ बिरामी भएको थाहा पाएको थिएँ । पछि मृत्यु भएको स्टाटस पनि सुरुमा उनले नै लेखे ।
त्यसो त आएपछि जानु सबैले पर्छ । यो निरन्तर चलिरहने क्रम हो । तर चेतनदाइले बोर गरेर जानुभयो । साह्रै विस्मातयुक्त भयो उहाँको परमधान यात्रा । हामी सबैलाई टुहुरो पारेर नसोचको बेला गइदिनुभयो । कस्तो बेला छाडेर जानु भयो भने हामीले अन्तिम दर्शन पनि गर्न सकेनौँ ।
अब जावलाखेल, पुलचोक अनि दमकलअगाडिको चेतन–गल्ली लक–डाउन खुलेपछि पनि सुनसान नै रहनेछ । सुनसान पारिदिनुभयो चेतन दाइले । (साभार कोशी अनलाइन)
वि.सं.२०७८ जेठ १४ शुक्रवार १९:२५