back

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

✍ रवीन्द्र श्रेष्ठ, हाल क्यानडा । दोलखाका लोकप्रिय नेता पशुपति चौलागाईले हामीलाई छोडेर गएको आज १३ दिन भयो ! देश नै कोरोनाको महामारीले भयभीत बनाइरहेको बेलामा उनको अप्रत्याशित निधनको खबरले दोलखाली मात्र नभई उनलाई चिन्ने सम्पूर्ण नेपालीलाई भावविह्वल बनाएको थियो ! सधैंभरि जन तामाझ रही जनहितमा काम गरिरहने यी जनप्रिय नेताको महाप्रस्थान यस्तो बेला भयो जतिबेला पूरै जनता कोभिडको महामारीले घरभित्र थुनिएर बस्नु परेको थियो । अझ भनौं, यो महामारीले उनलाई सुटुक्कै लग्यो ।

✍ रवीन्द्र श्रेष्ठ, हाल क्यानडा

उनको जन्म आजभन्दा ६४ वर्ष पहिले दोलखाको काभ्रेमा त्यस्तो विपन्न परिवारमा भएको यो, जुन परिवारलाई घरछेउको विद्यालय पढाउन पनि धेरै गाह्रो थियो । आर्थिक अभावले नै प्राथमिक तह पूरा गरेपछि उनको एक वर्ष पढाइ छुट्यो र गाउँमा कृषि फार्ममा गोठालोको काम गर्नु परेको थियो । केही वर्षपछि उनले पढाइलाई निरन्तरता त दिन सके तर पैसाकै जोहो गर्नका लागि स्कूले जीवन हुँदै पर्यटकको भारी बोकी सोलुसम्म पुर्‍याइदिन्थे । आर्थिक विपन्नताको बाबजुद पनि उनी पढाइमा अब्बल थिए ।

२०३६ साल सेरोफेरोमा पञ्चायत शासन विरुद्ध देशभरि नै आन्दोलन उठ्यो । आन्दोलन यसरी अगाडि बढ्यो कि पछि त राजा नै निर्दल या बहुदलको चुनाव गराउन बाध्य भए । त्यतिबेला बहुसंख्यक जनता अन्याय, अत्याचार र गरीबीको जाँतोमुनि पिल्सिएर बाँच्न बाध्य थिए । त्यति मात्र नभई, पञ्चायत शासक र उसका आसेपासेहरूले गरेको अत्याचार र दमन विरुद्ध चुँइक्क बोल्न नपाउने समय थियो । त्यस्तो समयमा उठेको आन्दोलनको लहरले दोलखाको पहाडका गाउँहरूलाई पनि छुन थाल्यो । साक्षर मान्छेहरू नै कम भएका त्यो बेलाका पहाडका गाउँहरूमा आन्दोलनका संवाहक भनेका हाईस्कूलका विद्यार्थी नै हुन्थे । बेला बेलामा भूमिगत रूपमा गाउँमा आएका प्रशिक्षण दिने कम्युनिष्ट कार्यकर्ताले उनको राजनीतिक चेत भरिनै रहेका थिए ।

त्यो बेला उनी कक्षा ९ मा पढ्दैथिए । उनी र उनका समकालीन साथीहरूले नै उनको गाउँमा उठेको आन्दोलनको नेतृत्व गरे । २०३६ सालतिर स्ववियूको निर्वाचन भयो । उनले त्यही स्ववियूको निर्वाचनमा सभापतिको उम्मेदवारी दिएर विद्यार्थी राजनीतिको प्रतिस्पर्धाको मैदानमा पहिलो पल्ट उत्रेका थिए । राम्रो पढाइ, मिलनसार स्वभाव अनि नेतृत्व गर्न सक्ने क्षमताकै कारण त्यो जिन्दगीको पहिलो चुनाव उनले सजिलै जिते ।

यसरी स्कूले राजनीतिबाट संस्थागत पाइला चालेका उनी एकपछि अर्को गर्दै राजनीतिको उँचाइ चुम्दै गए । उनलाई पढाएका उनका हेडसर यज्ञराज ढुङ्गेलले सामाजिक संजालमा उनीप्रति श्रद्धाञ्जली दिने क्रममा उनले प्राप्त गरेको राजनीतिक उँचाइलाई शुक्लपक्षको चन्द्रमाको आकारसँग दाँजेका छन् । उनी लेख्छन्, ‘तिम्रो राजनीतिक उँचाइ यति बढ्दै गयो, जसरी शुक्लपक्षको चन्द्रमा प्रत्येक दिन बढ्दै जान्छ ।’ त्यही २०३६ सालमै उनी अनेरास्ववियू एकता पाँचौं संगठनको जिल्ला कमिटीको उपाध्यक्ष भए ।

त्यसो त उनले स्कूले शिक्षा पास गरेपछि आफू पढेको गाउँकै स्कूलमा पढाउँदै अनि भूमिगत तत्कालीन नेकपा (माले) मा समाहित भई पार्टीको कामलाई पनि अगाडि बढाउँदै लगे र २०३८ सालमै पार्टीको सांगठनिक सदस्यता प्राप्त गरे । त्यो बेला पञ्चायत विरुद्ध लाग्नु भनेको एक हिसाबले जिन्दगीलाई हत्केलामा राख्नुसरह नै थियो ।

बीचमा शिक्षण पेशालाई केही समयको लागि थाती राखेर उनी उच्च शिक्षा पढ्न राजधानी आए र आई.एड पढ्नको लागि सानोठिमी क्याम्पसमा भर्ना भए । त्यही बेला हो, उनले आफ्नो विद्यार्थी राजनीतिको उँचाई केन्द्रीयस्तरमा पुर्‍याए । उनी सानोठिमी क्याम्पसको स्ववियू सभापति मात्र भएनन्, अनेरास्ववियू (पाँचौं) को केन्द्रीय कमिटीमा पनि पुगे ।

पढाइ पूरा गरेपछि आफ्नै गाउँ फर्के र शिक्षण पेशा गर्दै भूमिगत रूपमा जनतालाई तत्कालीन व्यवस्था विरुद्ध संगठित गर्दै थिए । त्यो कुरा प्रशासनले थाहा पायो । उनलाई पढाइरहेकै बेला स्कूलबाट प्रहरीले नियन्त्रणमा लियो र कठोर सजायसहित ५–६ महीना कारागारमा राखियो । त्यो बेला उनले पाएको सजायको संस्मरण गर्ने मान्छेहरू यतिबेला पनि दोलखामा यत्रतत्र भेटिन्छन् ।

२०४६ सालको जनआन्दोलनपछि पार्टीले उनलाई पूर्णकालीन कार्यकर्ता बनायो । उनैले प्रजातन्त्र स्थापनापछि जताततै कांग्रेसकै लहर छाएको गाह्रो समयमा दोलखा एमालेको सचिवको जिम्मेवारी निभाए । २०५४ सालमा पार्टीमा फुट आएपछि उनकै केन्द्रीय नेतृत्वमा युवाहरूको संगठित, सशक्त र क्रियाशील संगठन निर्माण गरियो । उनका बालसखा एवं एमाले दोलखाका पुराना नेता भीम दाहालका अनुसार उनले अत्यन्तै कठोर मिहिनेत, कुशल नेतृत्व क्षमताले युवाहरूको सशक्त संगठन निर्माण गरेपछि उनी देशभरि नै लोकप्रिय भए ।

त्यसपछि उनी एमालेको केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य पनि भए । खासमा भन्ने हो भने, उनी जिल्लाको मात्र नभएर त्यो भेगकै सबैभन्दा पहिले मूलधारको कम्युनिष्ट पार्टीको माथिल्लो तहमा पुग्ने नेता हुन् । उनी २०५६ सालमा दोलखा क्षेत्र नं. १ को सांसद र २०७० सालको दोस्रो संविधानसभाको चुनावमा समानुपातिक सांसद भएका थिए भने २०७४ मा वागमती प्रदेश दोलखा क्षेत्र ‘ख’ का सांसद समेत भएका थिए ।

उनीसँग लामो समय सहकार्य गरेका दोलखा एमालेका नेता दिनेश शिवाकोटीका अनुसार उनी सदैव जनताको आधारभूत आवश्यकताहरू पूरा गरी कसरी देशको समग्र समाजको विकास गर्न सकिन्छ भन्ने प्रष्ट दृष्टिकोण थियो । उनकै पहलमा दोलखाका गाउँमा कैयौं स्कूल, क्याम्पस र सहकारीहरू खुलेका थिए । नेता शिवाकोटीका अनुसार उनकै पहलमा ‘सिनास’ द्वारा प्रकाशित इतिहासकारद्वय धन बज्राचार्य र तेजप्रकाश श्रेष्ठबाट लिखित ‘दोलखाको ऐतिहासिक रूपरेखा’ प्रकाशनमा आएको थियो । उक्त किताबले कैयौं महत्वपूर्ण ऐतिहासिक तथ्यहरूलाई बाहिर ल्याएको थियो ।

उनी जति ठूलो नेता त्यति नै असल मान्छे थिए, प्रायः नेताहरू एउटा राजनीतिक उँचाइ प्राप्त गरेपछि घमण्डी बन्दछन् । उनीहरूको व्यवहार र रहनसहनमा आकाश–पातालको फरक आउन थाल्छ । तर, यिनी कहिल्यै नबदलिकनै यो संसारबाट विदा भए । उनको सरल, मिजासिलो स्वभाव अनि मीठो बोली मृत्युपर्यन्त कायम रह्यो ।

उनको सबैभन्दा सबल पक्ष भनेको निष्ठा र इमानदारिताको राजनीति गर्नु थियो । उनीसँग लामो सहकार्य गरेका उनका समकालीन एमालेका केन्द्रीय नेता आनन्द पोखरेलले पनि आफ्नो शोक वक्तव्यमा उनको इमान र निष्ठाको संस्मरण गरेका छन् ।

उनको अर्को बलियो पक्ष भनेको राजनीतिमा कहिल्यै गुटबन्दी नगर्नु पनि हो । उनीसँग राजनीतिक रुपमा निकट रही काम गरेका दोलखाका पत्रकार चिरञ्जीवी मास्केले आफ्नो लेखमार्फत यो कुरा प्रष्ट पारेका छन् । उनी लेख्छन्, स्वर्गीय नेताले कहिल्यै कसैलाई नजिक वा टाढा राख्ने काम गर्नुभएन । कार्यकर्ताहरूको काम र योग्यता नै उनको लागि व्यवहार गर्ने मानक थिए ।

त्यसो त, पैसा, गुटबन्दी र अनेक तिकडम हावी हुँदै गएको राजनीतिमा उनलाई किनारामा धकेल्ने प्रयासहरू पनि भइरहेका थिए । उनको पार्टीले कैयौं पल्ट सरकार गठन गर्दा उनलाई मन्त्रिमण्डलमा पारिने अड्कल संचारमाध्यमहरूले लगाउँथे तर उनी कहिल्यै मन्त्री हुन सकेनन् । उनलाई वागमती प्रदेशको मुख्यमन्त्रीको संभावित नेताको रूपमा पनि अखबारहरूले चर्चामा ल्याएका थिए तर उनी मन्त्रिमण्डलमा पनि अटाएनन् ।

त्यसो त अहिले चल्दै रहेको एमालेको झगडामा उनी माधव नेपाल पक्षमा लागेका थिए तर उनी विभाजित पार्टीमा अरू बढी वैदेशिक प्रभाव बढ्ने कुरामा प्रष्ट थिए । त्यसैले उनी आफ्नो तर्फबाट पार्टीलाई जुटाउन प्रयासरत थिए । यसरी आफ्नो इमान र निष्ठालाई कहिल्यै लिलामीमा नचढाउने त्यस्ता नेतालाई वैदेशिक हस्तक्षेप अरू बढेर देश राजनीतिक अस्थिरतातर्फ धकेलिरहेको अवस्थामा यो महामारीले उनलाई हामीबाट खोसेर लगेको छ । उनको अभाव नेपाली राजनीतिमा धेरै लामो समय अवश्य खट्किनेछ । यी महान् नेतालाई भावपूर्ण श्रद्धाञ्जली ! अनलाइन खवरबाट साभार गरिएको

(दोलखा स्थायी घर भएका लेखक हाल क्यानडामा बसोबास गर्छन् ।)


प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

वि.सं.२०७८ साउन ४ सोमवार ११:०३

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी...

गृह मन्त्रालयलाई मैले एउटा नागरिकको आँखाबाट हेर्छु—गृहमन्त्री बालकृष्ण खाण

गृह मन्त्रालयलाई मैले एउटा नागरिकको आँखाबाट हेर्छु—गृहमन्त्री बालकृष्ण खाण

वि.सं.२०७८ साउन १ शुक्रवार १४:११

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा...

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका  लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

वि.सं.२०७८ जेठ २५ मंगलवार १६:४२

अशोककुमार श्रेष्ठ काठमाडौँ । कोरोना भाइरस कोबिड -१९ ले...

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:३२

काठमाडौँ । बिगत १९ वर्षदेखि जर्मनीमा आफ्नो ब्यबसाय संचालन...

कुकुरको अशान्ति

कुकुरको अशान्ति

वि.सं.२०७७ पुस १९ आइतवार १५:४७

हरि कुमार श्रेष्ठखाँदबारी (हाल अमेरिका ) बल्ल बल्ल आफ्नो...

पंचाङ्ग निर्णायक समितिको औचित्य छैन ।सामाजिक अभियन्ता -मल्ल के सुन्दर

पंचाङ्ग निर्णायक समितिको औचित्य छैन ।सामाजिक अभियन्ता -मल्ल के सुन्दर

वि.सं.२०७७ मंसिर १ सोमवार २१:२०

काठमाण्डौँ । सामाजिक अभियन्ता मल्लके सुन्दरले पंचाङ्ग निर्णायक समितिको...