लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ
shares

अशोककुमार श्रेष्ठ

काठमाडौँ । कोरोना भाइरस कोबिड -१९ ले थिलथिलो हाम्रो जनजीवन बिस्तारै सामान्य तर्फ लम्किदैछ । बिस्तारै लकडाउन खुकुलो हुँदैछ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने देखिन्छ तैपनि हाम्रा आधारभूत आवश्यकता समयमै पुरागर्नु पर्ने अवस्थाका कारणले पनि हामि धेरै समय लकडाउनको घेरा भित्र रहन सक्दैनौ । त्यसैले खुकुलो पार्नुको बिकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ ।
निम्न लिखित अभ्यासलाई आफ्नो जीवनशैली बनाउनु भयो भने कोरोना संक्रमणबाट बच्न सकिन्छ ।
१. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कने ।
२. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउने , घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राखने , मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्ने | प्रयोग गरेको मास्क बाटोमा नफाल्ने | सकभर चस्मा र पंजाको पनि प्रयोग गर्ने ।
३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो , घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्ने ।
४. सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छोड्ने | हरेक बस्तु छोएपछि, बाहिरबाट आएपछि, खाना खानुअघिं तथा अन्य समयमा पनि साबुन पानीले मिचिमिची हात धुने , साबुनपानी नभएको ठाउँमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्ने ।
५. सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकोले छोंटो दुरीमा पैदल हिंड्ने बानी बसाल्ने , भौतिक दुरी कायम हुनेगरि सवारी साधन चढ्दा मास्क, चस्मा, पंजा तथा स्यानिटाइजर अनिबार्य रुपमा प्रयोग गर्ने ।
६. कोरोना संक्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो , भीडमा झुक्किएर पनि नजाने, भौतिक दुरीको मुलमन्त्र नबिर्सने ।
७. खोकी लागेमा, हान्च्छ्युं आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजाने , यस्तो बेला कुहिनातिर फर्केर खोक्ने, हाच्छ्युं गर्ने, टिस्यु पेपर वा सफा रुमाल प्रयोग गर्ने, अनि हात सफा गर्ने , अरु मान्छेतिर फर्केर कहिल्यै पनि नखोक्ने , हाच्छ्युं नगर्ने ।
८. आफुले काम गर्ने / गराउने ठाउँमा भौतिक दुरी, सरसफाई तथा भेन्टिलेसनको ब्यबस्था मिलाउने , बन्द कोठामा भाइरस लामो समयसम्म रहने हुनाले हावा खेल्ने कोठा बनाउने ।
९. सकभर खाजा घरबाटै लिएर जाने , क्यान्टिन वा चियापसलको भीडबाटमा नजाने ।
१०. आफ्नो काम सकिएपछि सिधै घरमा फर्किने । घरमा फर्केपछि मास्क, रुमाल, पंजा, चस्मा, झोला, बाहिरी कपडालाई घरबाहिर वा घरको हावा लाग्ने गल्ली, कौसीमा राख्ने ।
११ . सानोतिनो समस्या भएमा अस्पताल नजाने, घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभएमा भीडभाड नहुने स्वास्थ्य संस्थामा जाने , स्वास्थ्य केन्द्रमा ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने गर्ने ।
१२ . तरकारी, फलफूल तथा अन्य सामान किन्नको लागि सपिंग मल, डिपार्टमेन्टल स्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किराना पसल रोज्ने ।
१३ . मानसिक तनाब न्यूनीकरण गर्ने योजना बनाउने, केहि समय हाम्रा ब्यबसाय चल्ने छैनन् वा कम चल्नेछन् , खाध्य, औषधि, स्टेसनरी, कृषि लगायतका ब्यबसाय चल्नेछन् , अन्य ब्यबसायमा महँगो भाडा, धेरै लगानी तथा धेरै खर्च भएमा त्यसलाई ब्यबस्थापन गर्ने, आवश्यक परे पेशा परिवर्तन गर्ने यो उपयुक्त समय हो । कृषि, पशुपंक्षी पालन तथा बिबिध अर्गानिक खेती, होम डेलिभरी एबम अनलाइन बिजनेस अबका उत्कृष्ट पेशा हुनेछन् ।
१४ . चुनौतीलाई स्वीकार्ने, चुनौतीलाई ब्यबस्थापन गर्ने तथा सानो उपलब्धिमा पनि सन्तोष मान्ने बानीको बिकास गर्नुको बिकल्प छैन | कोभिड पूर्वको अवस्थासंग तुलना गर्यो भने तनाब थप्ने काम हुन्छ । यो नयाँ युगलाई शुन्य मानेर काम गर्यौं भने तनाब हुनेछैन ।
१५ . रोगसँग लड्ने क्षमता बढाउने उपाय गर्ने, ताजा र पोषिलो खाना, मरमसला र जडिबुटीको प्रयोग गर्ने । गुर्जो, तुलसी, बेसार, अश्वगन्धा मिश्रित चिया र पानी प्रसस्त खाने, ब्यायाम, योग, ध्यान, संगीत, लेखन, पठन, प्रबचनमा व्यस्त हुने । तनाब न्यूनीकरण आदिबाट आफ्नो इम्युनिटी पावर बढाउन सकिन्छ । इम्युनिटी पावर बढेमा कोरोनामात्र हैन अन्य धेरै रोगबाट पनि बच्न सकिन्छ । सकारात्मक सोंच र आशाबादी गुण सुखी जीवनका अचुक औषधि हुन् ।
१६ . कुनै व्यक्तिसंग प्रतिष्पर्धा, रिस, इर्श्या, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी कहिल्यै नगर्ने , प्रत्येक व्यक्ति फरक क्षमताको हुन्छ , विनयशील, सहनशील, क्षमाशील तथा सत्यको बाटोमा हिंड्ने व्यक्ति निरोगी र दिर्घायु हुन्छ ।
१७ . संक्रमित तथा मृतकको संख्या, उमेर, स्थान हेरेर चिन्तित नहुने ।
१८ . कोरोनाको कारण मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ , तसर्थ हामीले हाम्रा रोगहरु पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । आफै जान्ने भएर, बानी पर्छ भनेर वा आफैले कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नुहुँदैन | औषधि सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौं भने कोरोना संक्रमणसंग डराउनु पर्दैन ।
१९ . कोरोना संक्रमण भएमा मरिन्छ भन्ने जुन धारणा छ, त्यो गलत हो । ९० % कोरोना संक्रमित आफै वा सामान्य उपचारले निको हुन्छ , १० % लाई मात्र अस्पताल बस्नुपर्ने हुनसक्छ । ती मध्ये ५ % लाई आइसीयु / भेन्टिलेटर चाहिन्छ | त्यसको आधा अर्थात २-३ % को मात्र निधन हुन्छ । हाम्रो देशको मृत्युदर अहिलेसम्म ०.५ % पनि छैन । यो तथ्य हामीले बिर्सिनु हुँदैन ।
२० .कोरोना बिरुद्धको भ्याक्सिन यथासक्य छिटो भन्दा छिटो लिने ।
(लेखक : दोलखा नापी बिभागका प्रमुख हुनुहुन्छ )
वि.सं.२०७८ जेठ २५ मंगलवार १६:४२