लुम्बिनी राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने
shares

दाङ । भोलि सोमवार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा जनता सामाजवादी पार्टीका चार सांसदले मतदान गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका चार सदस्यमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले यस अघि प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम राखिएको थिएन । निर्वाचन कार्यालय दाङले आज (आइतवार) त्याे सच्याउँदै मतदान गर्न पाउने सूचना जारी गरेको छ ।
निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेश सभा सदस्यमा ७९ जनाको मात्रै नाम रहेकोमा त्यसलाई थप गरी ८३ कायम गरिएको छ । यसअघि नाम नभएका, जसपाले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीको नाम थपिएको हो ।
सर्वोच्चले जेठ ३ मा उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।
यसैबीच लुम्बिन प्रदेशमा उपचुनावकाे तयारी पूरा भएको छ । दाङको घोराहीमा रहेकाे कर्मचारी मिलन केन्द्र परिसरमा हुने उपचुनावकाे तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभएको छ ।
उपचुनावमा प्रदेश सभातर्फका ८३ सांसद र पालिकाका मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष गरी दुई सय १७ मतदाता छन् । तीन वटा मतदान केन्द्र बनाइएको र बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जनाइएकाे छ । प्रत्येक मतदान केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइने भएको छ । उपचुनावमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयरकाे मतभार १८ गणना हुन्छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार २१:४६