समाजसेवी सरला कायस्थको शालिक निर्माण
shares

धरान, सुनसरी । समाजसेवी तथा रेडक्रसकर्मी सरला कायस्थको शालिक निर्माण भएको छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीको संस्थापक अध्यक्ष भइ योगदान गरेको आधारमा सम्मान स्वरुप कदर गर्दै रेडक्रस भवन परिसरमा उनको प्रतिमा स्थापना गरिएको हो ।
पछिल्लो समय समाजसेवी कायस्थ ८५ वर्षको उमेरमा पनि ज्येष्ठ नागरिकहरूका समस्यामा खरो आवाज उठाइ रहेकी छिन् ।
समाजसेवी कायस्थ ३३ वर्षको उमेरमा धरानमा ५२ वर्ष अघि गठन भएको रेडक्रस सोसाइटी सुनसरीको अध्यक्ष भएकी थिइन्। उनको योगदानको कदर स्वरूप रेडक्रस भवन परिसरमा प्रतिमा स्थापना गरिएको हो ।
विश्व रेडक्रसका संस्थापक हेनरी ड्युनाको शालिकसँगै समाजसेवी कायस्थको प्रतिमा समाजसेवी महिलाको जीवनकालमा निर्माण गरिएको पहिलो प्रतिमा हो ।
मानवीयतामा समस्या आइपरे सँगै संसारमा रेडक्रस विस्तार भएको इतिहास छ । पाँच दशक अघि त्यस्तै अवस्थामा सुनसरी रेडक्रस आइपुगेको थियो । समाजसेवी कायस्थ २०२८ मा स्थापना भएको नेपाल रेडक्रस सुनसरीको पहिलो अध्यक्ष थिइन् । उनी अध्यक्ष पदमा पटक -पटक दोहोरिदै २६ वर्षसम्म रहिन् । २०३४ पछि केन्द्रीय रेडक्रसमा दुई पटक गरी ८ वर्ष बिताइन् ।
समाजसेवी कायस्थले रेडक्रसलाई दिर्घकालिन संस्थापन गर्न धरानमा रेडक्रस भवन निर्माण गरिन् । धरानमा राजधानी बाहिर पहिलो पटक एम्बुलेन्स सुरु गरिन् । त्यस बेला एम्बुलेन्स सञ्चालन गर्ने पहिलो जिल्ला सुनसरी बन्यो । रेडक्रसलाई नै आफ्नो घर परिवार ठानेर नलागेसम्म यी सबै काम सम्भव थिएन् । उनी अहिले पनि भन्छिन् ‘रेडक्रस मेरो ठूलो परिवार हो ।’
रेडक्रस मात्र नभएर सरला कायस्थको धरानका मानविय कल्याणका प्रायः सबै संस्थामा योगदान छ । २०३४ सालमा दृष्टिविहीनहरूको ज्ञानचक्षु विद्यालय स्थापनाकालमा उनीनै सदस्य सचिव थिइन् । जीवनको उत्तरार्धमा पनि ज्येष्ठ नागरिकहरूको अधिकारका लागि समुदायले उनैलाई अघि सारेका छन् । सरला कायस्था धरान ज्येष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष छिन् ।
रेडक्रस सुनसरीको सल्लाहकार, नेपाल कुष्ठरोग निवारण सङ्घ केन्द्रीय सदस्य सहित दर्जनौ संस्थामा अहिले पनि आबद्ध कायस्थको सामाजिक पहिचान रेडक्रसबाटै बन्यो । त्यसैले उनले सबै तिरबाट ‘रेडक्रस दिदी’ उपमा पाइन् । सरला कायस्थ नेपालमा रेडक्रसलाई उदाहरणीय बनाउन सुनसरी जिल्लाबाट जसरी लागि परिन् त्यो उदाहरणीय छ । उदाहरणीय हुनुको अर्थ स्मरणीय बन्न पनि हो । रेडक्रस परिसरमा स्थापित उनको प्रतिमाले त्यही कुराको सङ्केत दिएको छ ।
वि.सं.२०८० वैशाख ३१ आइतवार २१:५५