लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न
shares

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा बिकास गर्नका लागि आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पत्रकार सम्मेलन गरेका थिए । अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा दोलखालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रमको मुख्य प्रस्तोता सोही भेकका स्थानीय समाजसेवी एवम् स्थानीय विकास तथा पर्यटन प्रेमी दिव्यध्वज कार्कीको मूल संयोजन र जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष एवम् वरिष्ठ सिने कलाकार तथा रेडियोकर्मी मदनदास श्रेष्ठको सहसंयोजनमा सम्पन्न भएको भएको थियो ।
दोलखा जिल्लाका स्थानीय पर्यटन व्यवसायी, व्यापारी, राजनीतिज्ञ तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रम आयोजकको रुपमा दोलखा जिल्लाका सामाजिक अभियन्ता शोभित उप्रेती, दोलखा जिल्लाकै राजनीतिज्ञ सुन्दर खड्का, पत्रकार रञ्जन कार्की र ज्ञानेन्द्र कार्की थिए । साथै अग्रपंक्तिको विशेष स्थानमा दोलखा जिल्ला विकास समितिका पूर्व अध्यक्षहरू रुद्रबहादुर खड्का, लालकुमार केसी, पूर्व प्रदेश सांसद विशाल खड्का, चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष विष्णु श्रेष्ठ, बुद्धिजीवी देवेन्द्र सिटौलाका साथमा विशेष व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई प्रकाश पार्दै संयोजक दिव्यध्वज कार्कीले रोल्वालिङ उपत्यका भित्रका च्छो–रोल्पा ताल, बिगु गाउँपालिकामा रहेको लप्ची गुम्बा, लामाबगर क्षेत्र भित्र पर्यटन विकासको सम्भावना प्रशस्त रहेको तर प्रचारप्रसारमा गतिशील नभएको कारणले ओझेलमा परेको बताउँदै सञ्चार माध्यम र सामाजिक सञ्जालले यस स्थललाई विशेष महत्व दिएर प्रचारप्रसार गरिएमा पर्यटकीय क्षेत्रको रूपमा यथाशीघ्र विकास सम्भव छ भन्ने तर्क प्रस्तुत गरेका थिए ।
यसैगरी सो कार्यक्रमको बारेमा विषयगत रूपरेखा सुनाउदै पत्रकार ज्ञानेन्द्र कार्कीले लामाबगर, रोल्वालिङ उपत्यकासम्म पुग्ने सडक मार्गको बारेमा दीर्घ योजना कार्यान्वयन भैरहेको र केही भागमा सुरुङमार्ग समेत बनिसकेको बताउँदै छिमेकी राष्ट्र भारत देशबाट यातायात गर्न सहजताका लागि दक्षिण तीनवटै सिमाना काँकडभिट्टा, बिरगञ्ज रक्सौल या सुनौली जहाँबाट आएपनि बागमती प्रदेशको सिन्धुली जिल्लाको खुर्कोट भएर तामाकोसी तिरैतिरबाट छिटो आवतजावत गर्न सहज हुने भएकोले छोटो दुरीको रूपमा सो मार्गलाई पूर्व प्राथमिकतामा राखेर निर्माण हुन लागेको कुरा बताए ।
अन्तरक्रिया कार्यक्रमको क्रममा पत्रकार रमेश खतिवडा, विगु गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, नेपाल चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष विष्णु श्रेष्ठ, विगु लप्ची गुम्बासँग सम्बन्धित व्यक्ति कर्मा लामा शेर्पा लगायत केही व्यक्तिले सो स्थलमा पर्यटन विकासको सम्भावना र गरिनुपर्ने कार्यबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा सह–संयोजनको रूपमा रहनुहुने वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखा प्राकृतिक सम्पत्ति, साँस्कृतिक सम्पदा र धार्मिक सहिष्णुताले भरिपूर्ण भएको ठाउँ भएकोले पर्यटकहरूलाई आकर्षण गर्नको लागि सबैले साथ दिने प्रण गर्नुपर्ने बताए ।
वि.सं.२०८० साउन ६ शनिवार २०:५१