भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?
shares

✍बिके पासा । दोलखा जिल्लाको पालिका अन्तर्गतमा आर्थिक वर्ष २०८०–८१को लागि झण्डै ५२ करोडको बजेट भीमेश्वर नगरपालिकाको लागि विनियोजन गरेको खबर आयो। अत्यन्तै खुसीको कुरा सुन्न पाइयो । अब कृषि, शिक्षा र स्थानीय विकासले तीव्रता पाउने भयो भन्ने कुराले जति स्थानीयको मनमा उत्साह जागेको छ, त्यति प्रोत्साहन बजेटले संस्कृति, परम्परा र स्थानीय भाषा, लिपिको लागि पटक्कै गरिएको देखिएन ।

देशकै इतिहासमा लोकप्रिय कला, संस्कृति, सम्पदा र परम्पराले परिभाषित दोलखाको भी.न.पा. वडा नं. २, ३ र ४ मा नेवार बस्तीको बाहुल्यता रहेको छ । त्यसमा पनि जिल्लाकै नाम समेटिएको प्राचीन नगर दोलखा भित्र इतिहासकालदेखि धार्मिक नाटक, नृत्य र प्रहर्सनले मौलिकता झल्काएको छ । यहाँ नेवार समुदाय मात्रै होइन, थामी र तामाङ समुदायले समेतले दोलखाको प्राचीन इतिहास थमाइरहेका छन् । तर भीमेश्वर नगरपालिकाले त्यहाँको स्थानीय मौलिकतालाई खुलेर सहयोग गर्ने बिचार व्यक्त गरिएको देखिएन । यहाँ सम्म कि भाषा र लिपिको बारेमा प्रसङ्ग उठाउँदा माथिबाटै निकासा नभएको जानकारी सुनाउदै पन्छिएका छन् ।
पौराणिक वाद्यवादन दिनानूदिन लोप हुँदै गइरहेको कुरा स्थानीय सामाजिक अभियन्ता, समाजसेवी, बौद्धिक वर्ग, राजनीतिक कर्मीहरू, भजनप्रेमी, वडा कार्यपालिकाका सरोकारवाला व्यक्ति र नगरप्रमुखलाई समेत यथेष्ट जानकारी छ । यथार्थमा उहाँ स्वयम् वडा अध्यक्ष लगायत सदस्यहरू र भी.न.पा.का नगरप्रमुख स्वयम् नेवारी समुदायकै व्यक्ति हुनुहुन्छ ।
यहाँ वाद्यवादकको पनि त्यस्तै हालत छ, जात्रामात्रा पनि वर्षेनी एक एक गर्दै हराउँदे गएको छ । यो अवस्थामा स्थानीय विकास, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि नगरपालिकाले ध्यान दिन जरुरी छ कि छैन त ? दोलखाको संस्कृति र परम्परा भनेको गाईजात्रा निकाल्ने, डापा खलक कालिन्चोक जाने र लाखे नचाउने मात्र त होइन नि, यहाँ असंख्य जात्राहरू छन्, जुन आर्थिक स्तर कमजोरीको कारण निस्कृय भई राखेका छन् । पहिले पहिले दोलखाको चारवटा टोलमा नियमित भजन कीर्तन हुने गथ्र्यो हरेक ठाउँमा स्वतःस्पूmर्त रूपमा युवा, मध्यस्थ र वृद्धहरू जमघट भेला हुन्थ्यो त्यो अहिले छैन । हुन त जनशक्ति र जनस्रोतको अभाव पनि एउटा कारण हो । तथापि आफ्नो ठाउँको मौलिक परम्परा जोगाउनका लागि समयानुकूल वातारण मिलाएर वाद्यवादन प्रशिक्षण गराउने, टोल टोल बीचमा या समूह बीचमा प्रत्येक वर्ष मौलिक वाद्यवादन प्रतियोगिता गराउने, लोप हुन लागेका नृत्यलाई संकलन गरेर प्रतिस्पर्धा गराउने, परम्परागत पोशाक प्रदर्शन गराएर उचित मूल्यांकन गरी पुरस्कृत गराउने कार्य त नगरपालिकाको पनि त हो नि ।
भी.न.पा. २ भन्ने बित्तिकै केवल नेवार जातिलाई मात्र समेट्न भनिएको होइन । यहाँ भएका सबै जातजातिका समुदायलाई समेटेर पोशाक, भजन, नृत्य, लोक गायन (जस्तो कि नेवारी, थामी, तामाङ, बाहुन क्षेत्री आदि) जस्ता बिषय शिर्षक राखेर प्रतिस्पर्धा गर्दा गराउँदा, सबैले आ–आफ्नो प्रतिभा र मौलिकतालाई प्रदर्शन गर्न सक्षम हुनेछन् । सरल अर्थमा भन्नुपर्दा बाहुन क्षेत्रीको काठे टफ्फा नृत्य, दोहरी, झ्याउरे हुन्छ भने नेवार जातिको रोपाइँ, कृष्ण लीला, नेवारी वेशभुषा नृत्य, थामीको मारुनी र तामाङको सेलो नृत्य जस्ता कुरालाई भी.न.पा.ले विशेष ध्यान दिन जरुरी थियो तर बजेटमा यी कुराले कतै संकेत गरिएको देखिएन ।
हिजोआज जुनसुकै कुरामा कमिशनतन्त्र चलेको देखिन्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा मन्दिर, पार्क, बाटो, पुल, प्रवेशद्वार बनाउनेतिर पनि कमिशन नपाए कोही अग्रसर नहुने परिपाटीले गाँजिएको छ । पत्रपत्रिका र सामाजिक सञ्जालमा या कहिलेकाहीँ राष्ट्रिय स्तरका मिडिया आए भने मेरो पालामा मैले गरेको मेरै मार्फत भएको भनेर अनुहार देखाउन आतुर हुने व्यक्ति र समितिको कमी छैन । यस्तो व्यक्तिहरूले ती लोप हुन लागेका भजनलाई कसरी उजागर गर्ने होलान् शंकाका विषय छ ।
भजन मण्डलकै प्रसङ्गमा तल्लो टोलको महागीता भजन मण्डलका लागि भनेर कालिन्चोक युवा क्लवले काठमाडौंमा रहेका दाताहरूसंग हारगुहार गरेर संकलन गरेको वाद्यवादनका सामग्रीहरू व्यक्ति विशेषको घरघरमा लगेर थन्क्याएर मैले नै मगाएको भनेर फिर्ता नदिनुले हाम्रो समाजलाई कुन दिशातिर मोड्ला त ? हामीले सो गुनासो सुनेर सम्बन्धित व्यक्तिसंग जिज्ञासा पनि राखेका थियौँ तर एकले अर्कालाई दोष थुपारेर पन्छिने कुरामात्र गरे । अरुले सहयोग गर्न खोज्दा पनि मनोमानी तवरले एकल नीति अपनाएर समुदाय भित्र नै खिँचातानी प्रवृत्ति भयो भने स्थानीय निकायले कुन आधारमा बजेट दिने र कसरी आथिृक सहयोग गर्लान् त ? यसको निराकरण स्थानीय समुदायलाइै वडा पालिकाले कडा कदम चाल्न सक्नुपर्छ । यस्तो ठाउँमा र यो अवस्थामा नातावाद र नगदवादको कुरा हुनु भएन ।
हाम्रो भजन मण्डललाई पुरानै अवस्थामा फर्काउनका लागि हामी सबै एक तर्क एक मत भएर कुनै राजनीतिक पूर्वाग्रह नराखीकन हामी अभयपुर दोलखा वासी हौं अभयपुरे नै भएर लाग्न जरुरी छ । पूर्खाहरूले धेरै राम्रा संस्कृति र सभ्यताका पाठ सिकाएर गए । तर बीचमा आएर यो अभयपुर शहरको संस्कृति, रीतिरिवाज, पर्व, जात्रा र भजन किर्तनमा टाँचा लाग्न जाँदैछ, त्यसैले अब पनि पुस्तान्तरणको हिसाबले प्रशिक्षण प्रक्रियालाई अगाडि बढाएनौं भने हाम्रो अभयपुर दोलखा किंवदन्तिमा सिमित नरहला भन्न सकिन्न ।
वि.सं.२०८० साउन ६ शनिवार २१:१३